भक्तपुर क्षेत्र नं २ को लागि नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार हुन् महेश बस्नेत । बस्नेत २०७४ सालमा भएको निर्वाचनमा माओवादी केन्द्रसँगको वाम तालमेलबाट कांग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानालाई करिब दोब्बर मतले पराजित गरेर चर्चामा आएका थिए ।
यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार रामेश्वरप्रसाद ढुंगेलसँग पराजित भए पनि उनलाई केपी ओलीले एमालेकै कर्ण थापालाई हटाएर उद्योगमन्त्री बनाएका थिए । यस वेलादेखि बस्नेतले केपी ओलीको नजिक भएर काम गर्दै आएका छन् । वाम तालमेलबाट प्रधानमन्त्री बनेका केपी ओलीको पद जोगाउन बस्नेतले कोरोना कालमा नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालसँग मिलेर जनता समाजवादी पार्टीका डा. सुरेन्द्र यादवलाई जनकपुरबाट अपहरण शैलीमा काठमाडौं ल्याएका थिए । उक्त घटनापछि बस्नेतको तीव्र आलोचना भएको थियो ।
एमालेको चितवन महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित बस्नेत पोलिटव्युरो सदस्यसमेत छन् । माओवादी द्वन्द्वकालमा वाईसीएलविरुद्ध युथ फोर्स गठन गरेर चर्चामा आएपछि बस्नेतले एमालेको राजनीतिमा फर्केर हेर्नुपरेको छैन ।
भक्तपुरको सूर्यविनायक नगरपालिका ७ गुण्डु निवासी बस्नेत २०५४ सालको स्थानीय निकाय चुनावमा साविक गुण्डु गाविसको अध्यक्षमा निर्वाचित भए ।