२०१६ असारमा नवलपरासीमा जन्मिएका त्रिपाठी हाल प्रतापपुर नगरपालिका–६, नवलपरासी पश्चिमका स्थायी बासिन्दा हुन् । २०३३ सालमा विद्यार्थी संगठनबाट राजनीतिमा आएका उनी प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (रायमाझी समूह) को केन्द्रीय सदस्यको जिम्मेवारीमा पुगेका थिए । राजनीतिशास्त्रमा स्नातक त्रिपाठीले राजनीतिक आन्दोलनका क्रममा चार वर्ष ७ महिना जेल जीवन र केही वर्ष निर्वासनमा गएका थिए ।
२०४३ सालमा भएको राष्ट्रिय पञ्चायतको अन्तिम निर्वाचनमा उठेर पराजित भएका उनी २०४७ पछि उनी नेपाल सद्भावना पार्टीमा सक्रिय रहे । केही समय सद्भावना पार्टीको प्रवक्ता र आठ वर्ष महासचिव रहेका उनी पछि तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)को उपाध्यक्ष बने ।
त्यो बेला गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको मन्त्री पद त्यागेर त्रिपाठी तमलोपामा गएका थिए । त्यसपछि उनी मधेशकेन्द्रित दलहरूको एकताबाट बनेको राष्ट्रिय जनता पार्टी (राजपा)को सहअध्यक्ष बने ।
त्रिपाठी पाँचपटक प्रत्यक्ष निर्वाचित सांसद बनिसकेका छन् । उनी नवलपरासीको फरक क्षेत्रबाट २०४८, २०५१ र २०५६ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भए । २०६४ सालमा नवलपरासीबाटै पहिलो संविधानसभामा पुगेका उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पराजित भए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्ररुपमा एमालेको चुनाव चिन्हमा लडेर जितेका थिए । ०४८ यता सबै चुनाव लडेका त्रिपाठी ०७० को दोस्रो संविधानसभा निर्वाचन मात्रै पराजित भएका छन् । ०५१ सालमा पनि उनले एमालेको साथमा संसदको सार्वजनिक लेखा समितिको सभापति बनेका थिए ।