प्रेम सुवाल नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव हुन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट संसदमा छिरेका सुवाल २०७४ सालमा भक्तपुर क्षेत्र नं १ बाटै प्रत्यक्षतर्फ निर्वाचित भएर संघीय संसदमा दोहोरिएका थिए । तर, उनी नेमकिपाका एक्ला सांसद बने । यसअघिका सबै निर्वाचनमा यस क्षेत्रबाट नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले जित्दै आएका थिए । बिजुक्छेले २०७४ मा सुवाललाई आफ्नो क्षेत्र हस्तान्तरण गरेका थिए ।
२०७४ को निर्वाचनमा नेपाली कांग्रेसका बाबुराजा जोशीलाई झन्डै दोब्बर मतले पराजित गर्दै सुवाल विजयी भएका थिए । उक्त चुनावमा र वाम गठबन्धन (नेकपा एमाले र माओवादी केन्द्र) का मिलन सुवाल तेस्रो स्थानमा रहेका थिए ।
सुवाल भक्तपुर नगरपालिकाका पूर्वमेयसमेत हुन् । सुवाल २०५४ सालमा भक्तपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । नेमकिपाको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संगठनमा आबद्ध भई २०३२ सालदेखि राजनीतिमा सक्रिय सुवालले २०३९ सालमा नेमकिपाको प्रारम्भिक कमिटी सदस्य हुँदै पार्टीगत राजनीति आरम्भ गरेका थिए । २०४७ सालमा नेमकिपा केन्द्रीय सदस्य बनेका उनी २०४९–२०५४ सालसम्म केन्द्रीय सचिवको जिम्मेवारीमा रहेका थिए । त्यसपछि पुनः केन्द्रीय सदस्यमा झरेका सुवाल २०७४ सालमा भएको पार्टी महाधिवेशनबाट पुनः केन्द्रीय सचिवको जिम्मेवारीमा आएका हुन् । सुवाल भक्तपुर नगरपालिका वडा नं ६ निवासी हुन् ।