एमालेसँग गठबन्धन गरेका जनता समाजवादी पार्टी (जसपा)ले धनुषा क्षेत्र नम्वर १ बाट दिपक कार्कीलाई उम्मेदवार बनाएको छ । कार्की र सत्ता गठबन्धनका उम्मेदवार मातृका प्रसाद यादवबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
५९ वर्षीय कार्की सबैला नगरपालिका ५, धनुषाका बासिन्दा हुन् । २०७४ सालसम्म नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी । तर ०७४ मा उनी उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरममा प्रवेश गरी धनुषा १ बाट प्रतिनिधिसभा सदस्यको टिकट लिए ।
तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)सँग फोरमको गठबन्धन रहेपनि ०७४ मा कार्की बाजी मार्न सकेनन् । उनलाई ९ हजार बढी मतान्तरले वाम गठबन्धनका मातृका यादव विजयी भएका थिए ।
कार्कीका पिता बलालसिंह कार्की पंचायतकालमा धनुषा जिल्ला पञ्चायत सभापति बनेका थिए । उनी राजनीतिक परिवारमा हुर्किएका हुन् । भारतको बिहारबाट आईएस्सी गरेका उनी २०४६ को पञ्चायतविरोधी आन्दोलनमा पनि सक्रिय भूमिका खेलेका थिए ।