२०७४ को स्थानीय तह निर्वाचनबाट तिलोत्तमा नगरपालिकाको प्रमुखमा निर्वाचित बासुदेव घिमिरे नमुना काम गरेको जनप्रतिनिधिको रुपमा परिचित छन् । २०४८ सालमा एमालेको पार्टी सदस्या प्राप्त गरेका घिमिरेले तत्कालीन प्ररायुसंघ नेपालको विभिन्न कमिटी हुँदै केन्द्रीय कमिटीसम्मको जिम्मेवारीमा रहेर काम गरे । एमालेका विभिन्न कमिटी हुँदै तीन कार्यकाल जिल्ला कमिटीको जिम्मेवारीमा रहेका उनी हाल केन्द्रीय स्थानीय विभाग सदस्य हुन् । ५५ वर्षीय घिमिरे अहिले पार्टीको प्रदेश कमिटीमा छन् ।
पाँच वर्षे कार्यकालमा घिमिरेको नेतृत्वमा तिलोत्तमामा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक रुपान्तरणको क्षेत्रमा थुप्रैं रचनात्मक कामहरु भए । तिलोत्तमाले गरेका कतिपय काम राष्ट्रिय रुपमैं चर्चामा रहे । २०७७ र २०७८ मा मुलुकमै उत्कृष्ट नगरपालिका पुरस्कार प्राप्त गरेर उनी चर्चामा आएका हुन् । नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका उनलाई जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थन छ ।