नेपाली कांग्रेस रामेछाप जिल्ला सभापति समेत रहेका पूर्णबहादुर तामाङ जिल्लामा कान्छारामको नामले परिचित छन् । निर्माण व्यवसायी तामाङ राजनीतिमा लागेको धेरै भएको छैन तर उनले छोटो समयमै कांग्रेसको जिल्ला नेतृत्व गर्ने सामर्थ्य राखे । २०७४ सालको निर्वाचनमा वाम गठबन्धनमा उम्मेदवारसँग पराजित भएका तामाङ दोस्रोपटक चुनावी मैदानमा छन् । गोकुलगंगा गाउँपालिका वडा नम्बर १ का स्थायी बासिन्दा हुन् तामाङ । उनले चुनाव जितेपछि जिल्लाका बिरामीलाई हेलिकोप्टरबाट आफैंले लगेर उपचार गराउने आश्वासन दिएर मत मागिरहेका छन् ।